~ सिङ्ग लामा

अचेल कोही बुद्धिष्ट लामा वा भिक्षुहरुले नाचगान गरेको, मांसाहार गरेको, मदिरा सेवन गरेको, फिल्म हेर्न गएको र यौनिक सम्बन्धमा रहेकोमा मान्छेहरु आश्चर्य चकित हुने मात्र हैन, विभिन्न शिल, समाधी र प्रज्ञाका नियमहरु तोडेको भन्दै चरम आलोचना गरेको समेत पाईन्छ । के उनीहरु गलतै हुन्? वास्तवमा यो के भाको हो? वास्तविकता के हो? आउनुहोस्, तथ्यगत रुपमा चर्चा गरौं ।

१. बौद्ध धर्म गौतम बुद्धद्वारा मात्र प्रतिपादित हो, उनी नै बुद्धिष्टहरुको एकमात्र “भगवान” हुन् भन्ने आम सोचाई अल्पज्ञान हो ।

२. यो सोचाई महायानी (शाक्य, बज्राचार्य) र थेरवादी (थाईल्याण्ड, श्रीलंका, म्यानमार, आदि देशहरुमा प्रचलित) बुद्धिष्टहरुसँग लगभग मिल्न गएपनि नेपालमा बहुसंख्यक बौद्धमार्गीको रुपमा रहेको बज्रयानी बुद्धिष्टहरु (तामाङ, शेर्पा, गुरुङ, आदि)सँग भने बिलकूलै मेल खाँदैन । बज्रयान सिक्किम–दार्जिलिङ (भारत), भुटान, तिब्बत (चीन), आदि देशहरुमा पनि प्रचलित छ ।

३. नेपालका बज्रयानी बुद्धिष्टरुले मूल रुपमा गुरु पद्मसम्भव वा गुरु रिन्पोछेलाई मान्ने गर्दछन् । धर्तिमा अलौकिक पदार्पण भएका सिद्ध गुरु भनी विश्वास गरिने उनी सातौं शताब्दी तिर भारतबाट नेपाल हुँदै तिब्बत र चीन पुगेका थिए । त्यहिँबाट बज्रयानी बुद्धिज्मको सुरुवात भएको हो ।

४. बौद्ध धर्म संसारको एकमात्र यस्तो धर्म हो जुन ध्यान, तपस्या, तन्त्र वा साधनाबाट बोध र चैतन्यको अभ्यास र निर्वाण प्राप्तिमा आधारित छ ।

५. गौतम बुद्धको निर्वाण मार्ग ध्यान, तपस्यामा आधारित छ भने पद्मसम्भवको निर्वाण मार्ग मूल रुपमा तन्त्र साधनामा आधारित छ ।

६. मानव खप्परमा राखिएको मदिरा आगोको धुनी वरीपरी बसेर काँचो मासुसँगै कालातीत र अनियन्त्रित रुपमा सेवन गरेर र त्यसरी नै शौम्य यौनिक क्रियाकलापमा लिप्त रहेर पनि मदिरा, मांस र यौनको चक्रबाट पार हुन सक्ने तन्त्र साधना पद्मसम्भवको मार्ग हो । साथमा यसमा केही बाजागाजा, मन्त्र, आदिको पनि प्रयोग हुने गर्दछ ।

७. यी विधिहरुका अलावा उनले मृतकको भयशून्य अन्तिम भावबाट पनि निर्वाण प्राप्त हुने सुझाए ।

८. त्यसैगरी उनले मृतकको लागि तिनका आफन्तहरुले ४९ दिनसम्म विधिपूर्वक “वार्दो” गरेमा पनि निर्वाण मिल्न सक्ने सुझाए । उनका यीनै ३ अभ्यासहरु – तन्त्र, भयशून्य अन्तिम भाव र वार्दोलाई धेरैले आध्यात्मिक आविष्कारको रुपमा लिन्छन् । पश्चिमाहरुमा यसैको ठूलो प्रभाव छ । विश्वास आ–आफ्नै हो ।

९. वार्दोबाटै बज्रयानमा पूजापाठ र कर्मकाण्ड उदाएको देखिन्छ, साथमा विकृति पनि । वार्दो धेरै कुरामा हिन्दुहरुको गरुड पूराणसँग मेल खान जाने पनि सत्य हो । आलोचकहरुले पद्मसम्भवलाई एक भारतीय ऋषी मात्र थिए भनी चित्रण गर्नुको आधार पनि यही मात्र हो ।

१०. बौद्ध धर्ममा गौतम बुद्ध र गुरु पद्मसम्भव मात्र हैन, अनगिन्ती अन्य बुद्धहरु छन् तर ख्याती कमाएनन् वा प्रसिद्ध हुन चाहेनन । उनीहरुका मार्गहरु पनि फरक फरक छन् । सुप्रसिद्ध विपस्सना र आनापानसती ध्यान समेत गौतम बुद्धको सृजना नभईकन पूनःआविष्कार मात्र हो, बौद्ध परम्परामा यी ध्यान विधीहरु पहिल्यैदेखि अस्तित्वमा थिए । तर बौद्ध धर्ममा गौतम बुद्ध नै सर्वाधिक लोकप्रिय र पूजित बुद्ध हुन । उनको विधीलाई सर्वथा वैज्ञानिक मानिन्छ किनकी उनको विधी स्वतन्त्र खोजमा आधारित छ भने पद्मसम्भवको मार्ग आस्थाको अभ्यासमा आधारित छ, यसले सजिलै अन्धविश्वासको रुप लिन सक्छ ।

भारत निर्वासनपछि पश्चिमाहरुलाई प्रभाव पार्न तिब्बती धर्मगुरु दलाई लामाले अहिंसा र मूलतः शाकाहारलाई बज्रयानको पर्यायको रुपमा प्रचार गरेपछि र गौतम बुद्धको मार्गसँग फ्यूजन गरेपछि कन्फुयूजन झन बढेको हो । उनी आफैं भने करीब २० महिनाको शाकाहार अभ्यासपछि गम्भिर स्वास्थ्य समस्यामा परेर चिकित्सकहरुको सल्लाहमा मांसाहार गर्छन् ।

Leave a Reply