– सिङ्ग लामा
महासचिव, क्वेष्ट–नेपाल

विद्यार्थीहरुको गुणीय चक्र अर्थात एसक्यूसी (Students’ Quality Circles – SQC) को नेपाली मोडेलमा प्रयुक्त हुने १२ वटा समस्या समाधानका औजारहरु (Problem Solving Tools) मध्ये सम्भवतः सबैभन्दा शक्तिशाली औजार हो – परेटो विश्लेषण । स्मरणीय छ, एसक्यूसीले दास्रो विश्वयुद्ध पछिको जापानको पुनर्निर्माणको क्रममा उद्योग तथा कलकारखानाको व्यवस्थापनमा अभ्यास गरिएको टोटल क्वालिटी म्यानेज्मेन्ट अर्थात टिक्यूएम (Total Quality Management – TQM) अन्तर्गतको क्वालिटी कन्ट्रोल सर्कलले प्रयोगमा ल्याएको समस्या समाधानहरुका औजारहरुलाई परिस्कृत गरी विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि प्रयोग गर्ने गर्दछ । ईटलीका अर्थशास्त्री, ईन्जिजियर तथा दार्शनिक विल्फ्रेडो परेटोद्वारा सन १८९६ मा प्रतिपादित तथा अमेरिकी क्वालिटी गुरु  जोसेफ जुरानद्वारा सन १९४१ मा जापानमा टिक्यूएमको अभ्यास गर्दै गर्दा परिस्कृत यो परेटो सिद्दान्त वा ८०/२० सिद्दान्तले “कुनै पनि समस्याको २० प्रतिशत कारणहरु ८० प्रतिशत समस्या जन्माउन जिम्मेवार हुन्छन्” भन्ने मान्यता राख्छ । यो मान्यतालाई मानव समाज र व्यावहारिक जीवनमा कसरी लागू हुन्छ भन्ने सुक्ष्म अवलोकन गर्दा लगभग हरेक अवस्थामा यसको अस्तित्व रहने गरेको पाईन्छ ।

एसक्यूसीमा हामीले यसलाई विभिन्न अवस्था तथा उदाहरणहरुमा परीक्षण गर्यौं, जस्तैः

  • ८० प्रतिशत हल्ला २० प्रतिशत बच्चाहरुबाट हुन्छ
  • २० प्रतिशत प्रश्नहरुको तयारीबाट परीक्षामा ८० प्रतिशत प्रश्नहरु समाधान गर्न सकिन्छ
  • २० प्रतिशत शिक्षकहरुले ८० प्रतिशत साजाय दिन्छन्
  • ८० प्रतिशत गृहकार्य २० प्रतिशत समयमा सकाउन सकिन्छ
  • ८० प्रतिशत अपशब्दहरु २० प्रतिशत विद्यार्थीहरुले बोल्छन्
  • ८० प्रतिशत विद्यार्थीहरु २० प्रतिशत विषयहरुमा फेल हुन्छन्
  • २० प्रतिशत विद्यार्थीहरुले ८० प्रतिशत पुरस्कारहरु जित्छन्,
  • २० प्रतिशत बालबालिकाले उपलब्ध शैक्षिक योग्यताको ८० प्रतिशत योग्यता हासिल गरेका हुन्छन्, आदि आदि ।

त्यस्तै वृहत्तर समाजमा पनि परेटो सिद्दान्त लागू भई नै रहेको हुन्छ, जस्तैः

  • २० प्रतिशत अपराधीहरूले सबै अपराधको मूल्यको ८० प्रतिशत अपराध गर्छन्
  • २० प्रतिशत सवारी चालकले ८० प्रतिशत दुर्घटना गराउँछन्, आदि आदि ।

त्यसै गरी ब्यापार व्यवसायमा पनि यसको अस्तित्व र प्रभाव अधिकतम नै रहेको हुन्छ, जस्तैः

  • कुनै कम्पनीको २० प्रतिशत उत्पादनहरूले बिक्री आम्दानीको ८० प्रतिशत हिस्सा ओघट्छ
  • २० प्रतिशत ग्राहकहरूबाट ८० प्रतिशत आम्दानी प्राप्त हुन्छ
  • २० प्रतिशत खराब कच्चा पदार्थबाट ८० प्रतिशत टुटफुट सामान निस्किन्छ, आदि, आदि ।

अब परेटो सिद्दान्तको आधारमा सिनेमाको ब्यापार विश्लेषण गर्ने हो भने २० प्रतिशत फिल्महरुले ८० प्रतिशत ब्यापार गरेको र ८० प्रतिशत फिल्महरु २० प्रतिशत ब्यापारमा सीमित भएको देखिनु पर्छ । यो मान्यतालाई यसवर्ष नेपालमा परीक्षण गर्ने अवसर प्राप्त भयो किनकी यसपाली नेपाल चलचित्र बिकास बोर्डले हालै २०७९ मा प्रदर्शित सम्पर्ण सिनेमाहरुले गरेको ब्यापारको पूर्ण विवरण सार्वजनिक गर्यौ । यसका लागि बोर्डका अध्यक्ष तथा वरिष्ठ एवं सदावहार सुपरस्टार नायक तथा निर्माता भुवन केसीलाई धन्यवाद दिनै पर्छ । अनलाईनखबरमार्फत सार्वजनिक भएको यो समाचारलाई मैले एसक्यूसीको अध्येताको रुपमा परीक्षण गर्ने जमर्को गरें जसको नतिजा निम्नानुसार छः

तथ्यहरुः

१. वर्ष २०७९ मा नेपालमा कूल १३२ वटा फिल्महरु प्रदर्शन भएको देखिन्छ,

२. वर्ष २०७९ मा सिनेमाहरुले कूल रु. १,८२,९२,८८,९५६/– (एक अरब बयासी करोड बयान्नब्बे लाख अठासी हजार नौ सय छप्पन्न रुपैंया) ब्यापार गरेको देखिन्छ ।

३. यस विवरणमा नेपाली र हिन्दी दुबै खाले फिल्महरु सम्मिलित छन

समाचारको लिंकः https://www.onlinekhabar.com/2023/04/1290783?utm_source=Facebook&utm_medium=FBpage1&fbclid=IwAR3n9k6EwYmLQFhwsKkvFkfQskABDYlD_mtlR7zjVuY3x73_SUO5Z3wgK8k

यस तथ्यलाई देखाउने समाचारमा उल्लेखित विवरण यसप्रकार छः

मैले यस विवरणलाई ‘ईमेज’बाट ‘एक्सेल’मा कन्भर्ट गरेर गणना गर्ने कोशिस गरें र उपलब्ध विवरणको आधारमा ‘परेटो मेट्रिक्स’ बनाएँ जुन यसप्रकार हुन आयोः

© Singa Lama

अब यस परेटो मेट्रिक्सको आधारमा ‘क्यूआई म्याक्रोस’ सफ्टवेयरको प्रयोग गरी ‘परेटो डायग्राम’ बनाउँदा यस्तो तयार भयोः

© Singa Lama

अब यसलाई थोरै विश्लेषण गरौः

१. प्रदर्शित कूल १३२ फिल्मको २० प्रतिशत फिल्मले ८० प्रतिशत ब्यापार रकम कमाएको हुन २६.४ वटा फिल्मले त्यति कमाएको हुनु पर्यौ

२. अब परेटो डायग्रामलमई ध्यानले हेरौं । यसमा २६ वटा फिल्महरुको स्तम्भपछि अरु फिल्महरुको ब्यापारलाई समुहकृत गरेर एकै ठाउँमा राखिएको छ ।

३. डायग्राममा परेटो मेट्रिक्स अनुसारको अधिकतम कमाई गर्ने २६ वटा फिल्महरुले ठ्याक्कै ८० प्रतिशत कमाई गरेको स्पष्ट देख्न सकिन्छ । सजिलोको लागि २६ वटा फिल्महरुले ओघटेको स्तम्भहरुलाई रातोमा राखिएको छ र बाँकी फिल्महरुको समुहलाई हरियोमा राखिएको छ । ध्यानले हेर्नुहोला, २६ वटा फिल्महरुको समुहले ८० प्रतिशत ब्यापार गरेको कुरा दायाँ एक्सिस तर्फको अंकले जनाएको देख्नु हुनेछ । यसको सीधा अर्थ हुन आउँछ, बाँकी ८० प्रतिशत अर्थात १०६ वटा फिल्महरुको कूल कमाई २० प्रतिशतमा सीमित रहन पुगेको छ ।

अतः सामान्य अवस्थामा परेटो सिद्दान्त जीवन र जगतका हरेक अवस्थाहरुमा लागू भएको हुन्छ । एसक्यूसीमा हामी यो अवस्थालाई परिवर्तन गर्न समाधानका विभिन्न उपायहरु निकालेर लागू गर्ने र त्यसपछि फेरी अवस्थामा आएको परिवर्तनलाई मापन गर्न नयाँ डेटा संकलन गरेर त्यसको आधारमा नयाँ परेटो डायग्राम बनाएर हेर्ने गर्दछौं । सामान्य अवस्थामा अस्तित्वमा रहेको परेटो सिद्दान्तलाई बिगारेर नयाँ ढंगले वितरणात्मक अवस्था सिर्जना गर्नु नै समस्या समाधानको बाटो र सीप हो जुन एसक्यूसीमा अभ्यास गरिन्छ । विद्यार्थीहरुलाई शिष्ट र अग्रगामी बनाउन परेटो सिद्दान्तको यो प्रयोग निर्णायक बन्दै आएको एसक्यूसी अभियन्ता र अभ्यासकर्ता हामी सबैलाई अवगत नै छ ।

परेटो प्रयोगको मेरो यो सानो प्रयास एसक्यूसियन साथीहरुलाई कस्तो लाग्यो?

प्रतिक्रिया अवश्य दिनुहोला । धन्यवाद ।

(Public Disclaimer: विद्यार्थीहरुको गुणीय चक्र अर्थात एसक्यूसी (Students’ Quality Circles – SQC) विद्यार्थीहरुको व्यक्तित्व बिकासमा परिलक्षित तथा जापानको टिक्यूएम सिद्दान्त अन्तर्गतको क्वालिटी कन्ट्रोल सर्कलमा आधारित कार्यक्रम हो । नेपालमा यसको सुरुवात सन १९९९ मा प्रा. दिनेशप्रसाद चापागाईँले गर्नुभएको हो । हाल यो कार्यक्रम सन २००६ मा स्थापित क्वेष्ट–नेपाल (QUEST-Nepal) नामक संस्थाबाट देशैभरका विभिन्न विद्यालयहरुमा लागू गरिएको छ । हरेक वर्ष एसक्यूसीको हब, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरुसमेत आयोजना गरिन्छ ।)

Leave a Reply